चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना



बेइजिङ । वासिङ्टनले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी सवारी साधनको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि चीनले सोमबार अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चेतावनी दिएको छ ।

ब्लुमबर्ग र अन्य सञ्चारमाध्यमले स्रोतलाई उदृत गर्दै आइतबार संयुक्त राज्य अमेरिकाले चीनमा निर्मित हार्डवेयर र सफ्टवेयरलाई आफ्ना सवारी साधनमा प्रतिबन्ध लगाउने नयाँ नियममा विचार गरिरहेको बताएका छन् ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीनले अमेरिकालाई बजार सिद्धान्तको सम्मान गर्न र चिनियाँ उद्यमका लागि खुला, निष्पक्ष, पारदर्शी र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्न आग्रह गरेको छ ।

लिनले भने, “अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई व्यापक बनाई चिनियाँ कम्पनी तथा उत्पादनविरुद्ध गरिएको विभेदकारी कदम लिएपछि यसकोको चीनले विरोध गरेको छ ।” उनले भने, “चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ ।”

यदि यो नियमको पुष्टि भयो भने, अमेरिका र चीनबीच बढ्दो व्यापार विवादको पछिल्लो वृद्धिको प्रतीक हुनेछ।

गत मे महिनामा वासिङ्टनले विद्युतीय सवारी साधन र सेमीकन्डक्टरजस्ता चिनियाँ आयातमा चर्को कर वृद्धि गरेको थियो ।
ह्वाइट हाउसका अनुसार विद्युतीय सवारी साधन, ब्याट्री, महत्वपूर्ण खनिज पदार्थ र चिकित्सा उत्पादनजस्ता रणनीतिक क्षेत्रलाई लक्षित गरी १८ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा कर वृद्धि भएको छ ।

विद्युतीय सवारी साधनमा यस वर्ष चार गुणाले बढेर १०० प्रतिशत र सेमीकन्डक्टरको शुल्क आगामी वर्ष २५ प्रतिशतबाट बढेर ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा यसै महिना यी योजनालाई अन्तिम रूप दिइएको थियो, जहाँ डेमोक्र्याट र रिपब्लिकन दुवैले चीनविरुद्ध कडा अडान देखाउन खोजिरहेका छन् ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा चीनबाट आयात हुने करिब ३०० अर्ब अमेरिकी डलरबराबरको सामानमा लगाइएको करको पुनरावलोकनपछि १८ अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरिएको हो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले सोलार ब्याट्रीलगायत अन्य कर वृद्धिका साथै सेमीकन्डक्टरमा ५० प्रतिशत कर वृद्धि सन् २०२५ देखि सुरु हुने पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बेइजिङले व्यापारमा प्रतिस्पर्धा गर्नुको साटो ‘ठगी’ गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here