गण्डकीमा भागबन्डा मिलाउन मन्त्रालय फुटाइयो



काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा अब ९ वटा पुगेको छ ।

हालको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । गण्डकीमा सत्तासाझेदार दल एमाले अहिलेसम्म सरकारमा गएको छैन । मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि सरकारमा नगएको एमालेलाई मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ४ वटा मन्त्रालय दिने भएका छन् ।


गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई सरकारबाट नहटाउने अडान राख्दा पनि एमाले चिढिएको थियो । देवकोटा र गुरुङलाई मन्त्री बनाउँदा कांग्रेसकै कोटाबाट बनाइनुपर्ने एमालेको माग छ ।