क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या



खोटाङ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । जेलर आचार्यका अनुसार जबर्जस्ती करणी मुद्दामा ५३ पुरुषले कैद भुक्तान गरिरहेका छन् ।


जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा सातजनाले कैद भुक्तान गरिरहेका छन् भने, हाडनाता करणी मुद्दामा १५ जनाले कैद भुक्तान गरिरहेको जनाइएको छ ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता कीर्ते मुद्दामा आठ पुरुष, बैंकिङ कसुरसम्बन्धी मुद्दामा एक महिला र तीन पुरुष तथा सवारी ज्यान मुद्दामा एक महिला र पाँच पुरुष छन् ।

लागुऔषध हिरोइन र गाँजा मुद्दामा तीन, खुनडाँका मुद्दामा तीन, सार्वजनिकस्थलमा अभद्र व्यवहार मुद्दामा पाँचजना पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

कारागारमा मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, नकवजनी चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दी रहेको जनाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको कैदीबन्दीले बताएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज (कैदीबन्दीले टोपीलगायत सामग्री बुन्ने ठाउँ) लाई अर्को ठाउँमा सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको जेलर आचार्यले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या वृद्धि भएको जनाइएको छ । प्रहरीले आर्थिक वर्ष २०८०र८१ मा विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएको थियो ।

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

फरार प्रतिवादी पक्राउ अभियानका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए।

पछिल्लो समय जिल्लामा शान्ति/सुरक्षा कायम राख्न प्रहरीले बढाएको सक्रियताप्रति जिल्लावासी सन्तुष्ट बनेका छन् । प्रहरीको सक्रियतापछि जिल्लामा आपराधिक क्रियाकलाप कम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here