कैलालीको फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने



गोदावरी (कैलाली) । यहाँको धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ । फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न धनगढी उपमहानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ ।

सो ठाउँमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न पहिलो चरणमा एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन भएको छ । बजेट विनियोजन भएसँगै एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र उपमहानगरपालिका प्रमुख गोपाल हमालबीच सम्झौता भएको हो ।


नगरप्रमुख हमालले फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न दुवै पक्षबीच हस्ताक्षर गरी सम्झौता भएको जानकारी दिए । उनले फूलबारीको डिपो बजार नजिक उपमहानगरपालिकाले उपलब्ध गराएको पाँच बिघा जग्गामा कम्तीमा पाँच हजार दर्शक क्षमताको प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्ने सम्झौता भएको बताए ।

अखिल नेपाल फुटबल सङ्घको यही भदौ ११ र १३ गते बसेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । फुटबल प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशबाट फुटबलका नयाँ खेलाडी तथा प्रशिक्षक उत्पादन गर्न महत्वपूर्ण योगदान पु(याउने विश्वास लिइएको छ ।

प्रशिक्षण केन्द्रका भौतिक संरचनाको काम पाँच वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)ले उक्त प्रशिक्षण केन्द्र १५ वर्ष प्रयोग गरेपछि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । यहाँ निर्माण हुन लागेको फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीलाई आवाससहितको सुविधा रहने जनाइएको छ ।