काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’, नदी तटीय क्षेत्र जलमग्न, जनधनको ठूलो क्षति



काठमाडौं । काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 


मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि जानकारी दिए । उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

आज साँझ भने जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०.१ काठमाडौँमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ । 
 

नदी तटीय क्षेत्र जलमग्न, जनधनको क्षति
नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आए जस्तो भएको छ यस पटक ।

विभागका अनुसार यस वर्षको मनसुन करिब अन्त्यको चरणमा पुग्नै लाग्दा देशव्यापी रूपमा परेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । वर्षाका कारण यसपटक राजधानी काठमाडौँ उपत्यका पनि निकै प्रभावित भयो । यहाँ अधिकांश नदी तटीय क्षेत्र जलमग्न छन् । बागमती, विष्णुमति, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेका छ ।    आज साँझपख एकैछिन घाम लागे पनि प्रभावितमा खुसीको सञ्चार भयो ।  

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हजारौँ मानिस प्रभावित भई एकै पटक उद्धार गर्नुपर्दा सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे नै भयो । उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण उपत्यकाका नदी तटीय क्षेत्रका अधिकांश तरकारी बजार, सार्वजनिकस्थल, विद्यालय, सडक पूर्वाधार, बल्खु आसपासका अधिकांश थोक बजारमा बाढी पसेको छ । बिहीबार रातिदेखिको वर्षाका कारण यहाँको जनजीवन प्रभावित मात्रै भएको छैन, उपत्यका प्रवेश गर्ने सडक नाका, मुख्य राजमार्ग अवरुद्ध छन् । 

काठमाडौँ उपत्यकामा ३४ जनाको निधन भएको छभने १७ जना बेपत्ता छन् । यहाँ दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीकानुसार ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको निधन भएको छ । काठमाडौँमा एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ । उद्धार तथा खोजका लागि चार हजार पाँच सय १० जना प्रहरी परिचालन गरिएका छन् । 

यस्तै, स्थानीयस्तरमा पनि युवाले स्वतःस्फूर्त रूपमा उद्धार तथा खोजकार्य गरेका थिए । ललितपुरको नख्खु खोलामा आएको बाढीमा फसेकालाई स्थानीय युवाले उद्धार गरेको विषय दिनभर नै सामाजिक सञ्जालमा चर्चामा रहयाे। वर्षाका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा राजधानी काठमाडौँको आधाभन्दा बढी स्थान प्रभावित भए । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषकानुसार वर्षाका कारण अवरुद्ध भएको बिजुली आपूर्ति सहज बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ ।

अत्यधिक मात्रामा पानी जमेका स्थानमा पोल तथा तार व्यवस्थापनमा समस्या भए पनि प्राधिकरणले आवश्यक प्राविधिक उपकरणसहितको जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।

यस्तै, मुलुककै सबैभन्दा ठूला जलविद्युत् उत्पादन केन्द्रका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको बाँधस्थल तथा बालुवा थिग्य्राउने पोखरीमा क्षति पुगेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

नियमित बिजुली प्रवाहमा समस्या आउँदा दूरसञ्चार सेवा प्रवाहमा समेत सामान्य असर देखियो । फोन गर्दा नसुनिने, बोल्दा बोल्दै काटिने जस्ता समस्या आज देखिएका थिए । यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मातहत निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर विपद्को समयमा दूरसञ्चार सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले आज बेलकनदेखि वर्षाको स्तर विस्तारै कम हुँदै जाने बताए । उनकानुसार नदीमा जलस्तर क्रमशः कम हुँदै जाँदा जोखिम पनि कम हुनेछ । जलस्तर कम हुँदै जाँदा खोज, उद्धार र राहतमा जुटन सहज हुनेछ । ‘समग्रमा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ । चौबिस घण्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । मुलुकभर एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह पार गरेको थियो’, शाखा प्रमुख पराजुलीले भने । 

आजै कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपत्कालीन समन्वयात्मक बैठकले वर्षाका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरेको छ । बैठकले अवरुद्ध भएका सबै सडक अविलम्ब खोल्ने, मृतकका परिवारलाई कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

मनसुनको अवधि लम्बिदै गएको तथा पानी पर्ने प्रवृत्तिसमेतमा परिवर्तन भएको सन्दर्भमा जोखिम न्यूनीकरणका लागि सचेतना वृद्धि र पूर्वतयारीको कामलाई उत्तिकै प्राथमिकतामा राख्नुपर्ने जानकारहरूको भनाइ छ । मौसम पूर्वानुमान प्रणाली विश्वसनीय र भरपर्दो बन्दै गएको सन्दर्भमा पूर्व तयारीको कामलाई गति दिनु अत्यावश्यक भइसकेको उनीहरूको मत छ ।

जलवायु एवम् वातावरण विषयका जानकार डा. पपुुलर जेन्टल मनसुनको दुई वा तीन महिनामा नै कूल वर्षाको ८० प्रतिशतभन्दा बढी वर्षा हुँदै आएको सन्दर्भमा सावधानी अपनाउनु नै पहिलो शर्त भएको बताउँछन् । विकास र वातावरणबीचको सन्तुलन बिग्रन जाँदा नदी तटीय क्षेत्रमा बढी जोखिम परेको उनको भनाइ छ । ‘हाम्रो विकास नदी किनारमा केन्द्रीत छ । सोही कारण नदीको प्राकृतिक प्रवाहमा अवरोध उत्पन्न हुनपुगेको छ । यसलाई ध्यान दिनैपर्छ’, उनले भने, ‘प्रि मनसुन र पोष्ट मनसुन क्रमशः घट्दै गएको अवस्थामा एकैपटक धेरै वर्षा हुँदा जनधनको ठूलो क्षति हुन पुगेको तथ्यलाई आत्मसात् गरेर आगामी दिनमा सुरक्षित हुने उपायको खोजी गरिनुपर्छ ।’ 

मौसम पूर्वानुमानलाई थप व्यवस्थित र आममानिसको तहसम्म पुग्ने बनाउनुपर्नेमा डा. जेन्टलको जोड छ । ‘विभागले यसपटक गरेको पूर्वानुमान शत्प्रतिशत मिलेको छ । धान नकाट्न, यात्रा नगर्न आग्रह गरिएको थियो । त्यसैले आममानिसमा सूचना पुग्न सकेन कि भन्ने प्रश्न रहेको छ’, उनको भनाइ छ, ‘पूर्व सूचनालाई ध्यान नदिँदा वा वास्ता नगर्दास मेत जनधनको क्षति हुन पुगेकाले आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । घाम लागेपछि हामी क्रमशः विपद्को क्षति बिर्सदै जान्छौँ । अर्को वर्ष उस्तै पुनरावृत्ति हुन्छ तर अब यस्तो हुनु हुँदैन ।’ 

मनसुन नेपालका लागि प्राणवायु जत्तिकै महत्वपूर्ण छ । खेतीपाती एवम् मुलुकको अर्थतन्त्रसमेत मनसुनसँग प्रत्यक्ष जोडिएकाले जोखिम कम गर्दै पूर्व तयारीलाई विशेष प्राथमिकतामा राख्नु जरूरी भइसकेको धेरैको भनाइ छ ।