कश्मिरमा विधानसभा निर्वाचन नजिकिदै गर्दा झडपका घटनामा वृद्धि



नयाँदिल्ली । विवादित हिमालय क्षेत्र जम्मु–कश्मिरमा एक दशकमा हुनलागेको विधानसभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुनलागेको पहिलो विधानसभाको चुनाव नजिकिदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ ।


“बहादुरको सर्वोच्च बलिदान” लाई श्रद्धाञ्जलि दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुबै देशले यसलाई पूर्ण रूपमा दावी गर्दै आएका छन् ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्।

पैतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ ।

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधानसभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here