एमाले नेताहरु किन पुगे प्रचण्ड निवास खुमलटार ?



काठमाडौं । नेकपा एमालेका नेताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी उपत्यकामा नदी किनाराका जग्गाबारे सर्वोच्च अदालतले दिएको आदेश र आदेश कार्यान्वयन गर्ने काठमाडौं महानगरको परिपत्रबारे जानकारी गराएको छ ।

नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईको नेतृत्वमा नेकपा एमाले बागमतीको टोलीले प्रचण्डलाई भेटेको हो । खुमलटार पुगेर एमाले नेताहरुले सर्वोच्चको फैसला र महानगरको परिपत्र रोक्नका लागि प्रचण्डलाई आग्रह गरेका हुन् ।


भेटमा उनीहरुले नदी किनाराका जग्गामा देखिएको समस्या समधानमा पहलका लागि आग्रह गरेका थिए । भेटमा प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्यासम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने जवाफ एमाले नेताहरूलाई दिएका छन् ।

त्यस्तै प्रचण्डले अदालतको निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठीकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने जानकारी दिएको एमाले नेता भट्टराईले जानकारी दिएका छन् ।

नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको एमाले नेताहरूले बताएका थिए ।

अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०–२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने उनीहरूको भनाइ थियो ।

केहीदिन अघि एमाले नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत यसबारे जानकारी गराएका थिए । देउवाले पनि यो विषयमा भ्याकेटमा जान सुझाव दिएका थिए ।