एन्जिलाले ग्रिक क्लबबाट लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।

एञ्जिला आगामी सिजन २०२४-२५ का लागि ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउमा अनुबन्ध भएकी हुन् । उनको सम्झौता रकम भने खुलाइएको छैन ।


एपीएफबाट घरेलु फुटबल खेल्ने एन्जिला पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकी हुन् ।

पहिलो पटक युरोपियन लिग खेल्न अनुबन्ध भएकोले खुशी लागेको एन्जिलाले बताइन् । ‘पहिलो पटक युरोपियन लिगका लागि अनुबन्ध हुँदा खुशी,’ एञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । लामो प्रयासपछि यो पूरा हुन लागेको छ । म एकदमै उत्सहित छु ।’

एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् । सावित्रा हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् ।

एन्जिलाले यसअघि भारतीय क्लब सेथु एफसीबाट दुई सिजन र पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन खेलेकी थिइन् । उनले दुवै क्लबमा कप्तानी समेत गरेकी थिइन् ।