आज अट्वारी पर्व मनाउँदै थारु समुदाय, पश्चिम नेपालका ६ जिल्लामा सार्वजनिक बिदा



दाङ । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ ।

हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी ब्रतको तयारी सुरु हुन्छ । दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।


द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ ।

अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ । दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ ।

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ । तर, पछिल्लो समय यि र यस्ता संस्कृतीहरु लोप हुने अवस्थामा छन । यि संस्कृतीको संरक्षण गर्न आवश्यक रहेको थारु कल्याणकारीणी सभा दाङ क्षेत्र नं १ का पूर्व अध्यक्ष चेतराम चौधरीले बताए।

अट्वारी पर्वमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहि र नवलपरासी पश्चिममा सार्वजनिक विदा दिएको छ । परापूर्व कालदेखी मनाउदै आएका कला संस्कृती लोप हुने अवस्थामा पुग्न थालेका छन् । समुदाय अनुसारको फरक फरक परम्पराको संरक्षण गर्ने योजना सबैले बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here