काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगारीको दशकको रुपमा अघिबढाउन मन्त्रालय लागिपरेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले बाध्यकारी वैदेशिक रोजगारीको अन्त्यका लागि स्वदेशमै रोजगार सृजनाका लागि आवश्यक वातावरण बनाउन मन्त्रालय प्रयासरत रहेको जानकारी दिए।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीको सदुपयोग गर्दै मुलुक निर्माणको योजना सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले भने, ‘आगामी दशकलाई आन्तिरिक रोजगारीको दशकको रुपमा अगाडि बढाउनका लागि मन्त्रालयले तयारी गरिरहेको छ।’
मन्त्री भण्डारीले थप भने, ‘युवालाई स्वदेशमै राख्नका लागि, वैदेशिक रोजगारीको विकल्प भनेको रोजगारी नै हो। वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्काउँदै पुनःएकीकरण गर्ने र उहाँहरूको सीप, संस्कार र संस्कृतिलाई सदुपयोग गर्न एवं विभिन्न स्र्टाटअपसँग जाडेर मुलुक निर्माण गर्ने सरकारको प्राथमिकता हो।’ उनले हालमात्रै सातवटै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरी आन्तरिक रोजगारी प्रवर्द्धन भइरहेको जानकारी दिए।
मन्त्री भण्डारीले महिला कामदारलाई वैधानिक बाटोबाट घरेलु श्रमिकका रुपमा वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउँदै केही मुलुकमा ‘पाइलट प्रोजेक्ट’का रुपमा अघि बढाउने योजनाबारे सदनलाई जानकारी दिए।
‘महिला कामदारको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन विभिन्न देशसँग महिला कामदारलाई घरेलु काममा लगाउने विषयमा थप सुरक्षित एवं मर्यादित बनाउन घरेलु कामदारसम्बन्धी प्रोटोकलमा हस्ताक्षरका लागि दुईपक्षीय वार्ता भइरहेको छन्’, उनले भने, ‘प्रस्तावित प्रोटोकलमा महिला कामदारलाई थप सुरक्षित बनाउन संसदीय समितिले समय समयमा दिएका निर्देशनलाई समावेशगरी कार्य अघि बढाइएको छ।’
वैदेशिक रोजगारीमा गत वर्ष सन् २०२३ मा नयाँ र पुराना गरी सात लाख ७१ हजार जनाले श्रम स्वीकृति लिएको तथा चालु आवको चैत्र मसान्त सम्ममा पाँच लाख ३९ हजार ६५ जनाले श्रम स्वीकृति लिएका छन्। मन्त्री भण्डारीले दैनिक सरदर दुई हजार एक सय १३ जना श्रम गर्न विदेशीने जानकारी गराए।