‘आईजीपीको जिब्रो थुत्ने’ अभिव्यक्ति आपत्तिजनक छ, यसबारे संसद्मा जवाफ दिइयोस्ः रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरुले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताए । साथै, सञ्चारमन्त्री गुरुङको उक्त विवादित अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन उनले माग गरे ।


‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरुलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दैगर्ला तर मन्त्रीहरुले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस्,’– उनले भने ।

गत शनिबार सञ्चारमन्त्री गुरुङले पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो ? म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

सञ्चारमन्त्री गुरुङको उक्त अभिव्यक्तिलाई लिएर अहिले चौतर्फ आलोचना भइरहेको छ । मन्त्री गुरुङले माफी माग्नुपर्नेदेखि बर्खास्तीको समेत आवाज उठिरहेको छ ।