अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा

badhi www.janaboli.com


पर्सा। अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साकाका अनुसार अविरल वर्षाको कारण मानवीय क्षति नभए पनि यहाँका ८३ घरधुरी डुबानमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अविरल वर्षाले पर्सा जिल्लामा मानवीय क्षति नभए पनि वर्षाका कारण जिल्लाका ८३ घरधुरीमा डुबानमा परेको जानकारी दिए। “वीरगञ्ज महानगरपालिका–११ रानीबाटस्थित डोमबस्तीका २७ घरधुरीमा बसोबास गर्दै आइरहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ,” उनले भने, “वस्तीमा पानी पस्न थालेपछि प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।”


पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगर क्षेत्रका ४२ घरधुरीमा डुबानको समस्या देखिएको छ । पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका लालपर्सास्थित भेडाहा खोलामा आएको वर्षाको कारणले वीरगञ्ज महानगरपालिका–३० स्थित ब्रह्माटोलस्थित छेउछाउमा रहेका १० वटा फुसका घर डुबेको छ। फुसका घरमा बसोबास गरेका सर्वसाधारणलाई वडा कार्यालयमा राखिएको पर्सा प्रहरीले जनाएको छ।

वीरगञ्जदेखि भिष्वाको जाने सडक पनि अवरुद्ध भएको छ । त्यसैगरी, पकाहामैनपुर गाउँपालिकामा पनि ३६ घरधुरीमा डुबानको समस्या देखिएको छ। पर्सा प्रहरीका अनुसार भिष्वादेखि सबैठा जाने सडकको आवतजावत पनि अवरुद्ध भएको छ। बहुदरमाई नगरपालिका पनि पाँच घरधुरीमा डुबानको समस्या देखिएको छ । वीरगञ्ज महानगरपालिका–१ र २ मा पर्ने छपकैयास्थित भकुवामा नालाको पानी ‘ओभरफ्लो’ भएर वस्तीमा पानी छिरेको छ।

वीरगञ्ज महानगरको वडा नम्बर क्रमशः ५, ६ र ७ मा कुमालटोलमा नालाको पानी ओभरफ्लो भएर बस्तीमा पनि छिरेको थियो। वीरगञ्ज महानगरपालिका–३० स्थित सर्वोत्तम फ्याक्ट्रीदेखि लालपर्सा जाने खेतको भित्री बाटोमा अविरल वर्षाको कारणले पानी जमेर बाटो अवरुद्ध भएको छ।

वीरगञ्ज महानगरदेखि विन्दवासिनी गाउँपालिकातर्फ जाने तिलावे पुलबाट २० मिटरभन्दा परको सडक चर्किएको छ। पानी ओभरफ्लो हुँदा सो सडक क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरको पनि ५० मिटर पर्खाल भत्किएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here