पाटन (ललितपुर) । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ ।
महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए । ‘वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्,’ उनले भने । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।
वाग्मती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । ‘हालसम्म मानवीय क्षति भएको छैन,’ उनले भने ।
वाग्मती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । वाग्मती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, वाग्मती ३ नं वडा कार्यालय जोखिममा छभने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।