अटवारी पर्वः दिदीबहिनीलाई कोसेली दिएर मनाउँदै थारू समुदाय



कञ्चनपुर । थारू समुदायले मनाउने अटवारी पर्वको आज अन्तिम दिन हो । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरी बिहानैदेखि विभिन्न पकवान बनाउनमा व्यस्त छन् । अटवारी पर्वको अन्तिम दिन आज दिदीबहिनीलाई कोसेली दिने चलन अनुसार चौधरी श्रीमतीसँगै भान्सामा परिकार बनाउनमा व्यस्त भएको छ ।

“एक दिदी कैलालीको मसुरियमा बस्नु हुन्थ्यो”, चेतराजले भने, “अहिले भारतमा छन्, यो वर्ष भेट भएन । अर्की दिदी कैलालीको गेटामा हुनुहुन्छ, उहाँका लागि परिकार बनाएर दिन जाने तयारीमा जुटेका छौँ ।”


अटवारी पर्वमा थारू समुदायले दिदीबहिनीलाई विभिन्न परिकार बनाइ दिने चलन छ । यो चलन पुस्तौंँदेखि मान्दै आइएकाले निरन्तरता दिएको चेतराजले बताए । “अटवारीका अवसरमा चेलिबेटीलाई कोसेली दिने पुरानो चलन हो”, उनले भने, “यसलाई जीवन्त राखी पुस्तान्तरणमा लागेका छौँ ।”

दाजुभाइ परिकार बोकेर आउने प्रतिक्षामा दिदीबहिनी बसेका हुन्छन् । धेरै समयसम्म भेटघाट नभएका दिदीबहिनीले कोसेली बोकेर आएका दाजुभाइसँग दुःख सुखका कुरा पोखी मन हल्का गर्दछन् । यस कार्यले दिदीबहिनी र दाजुभाइबीच आत्मियताको सम्बन्ध प्रगाढ हुने चौधरीले बताए ।

अरु पर्व जस्तो दिदीबहिनीलाई घरमा बोलाउने चलन भने यस पर्वमा नरहको स्थानीय नरेन्द्रप्रसाद चौधरीले बताए। उनका अनुसार घरका व्रतालुहरुले खाना खानुभन्दा पहिला चेलिबेटीका लागि परिकार छुट्ट्याएर राख्ने गरिन्छ । जसलाई थारु समुदायले ‘अग्रासन’ भन्ने गर्दछन् ।

सूर्यदेवलाई अघ्र्य दिएपछि चेलिबेटीका लागि ‘अग्रासन’ छुट्टाउने कार्य गरिन्छ । अग्रासन छुट्टयाएपछि व्रतालुले खाना खाने गर्दछन् । “आइतबार राति पानीसमेत नखाएर निरहार बसेका व्रतालुले आज बिहान नुहाइधुवाई गरी विधिवत् रुपमा सूर्यदेव र इष्टदेवको पूजा गरी फलाहार ग्रहण गर्दछन् । फलहार भने सालको दुनाटपरी, कमलको पात वा केराको पातमा खाने चलन छ”, नरेन्द्रप्रसादले भने।

फलहारमा भात, केराउको गुदा, खरिया, फूलौरी, पटौला, पोँइ, रामतोरिया, चिचिण्डा, पकौँरी, तामा, गब्दा, सिद्रा माछालगायत हुन्छ । फलाहार गरेपछि प्रसादका रुपमा फलफूल खाने चलन रहेको उनले बताए । फलाहार गरेपछि अग्रासनका रुपमा छुट्याइएको चोखो परिकारसँगै काँक्रा, केरा, अम्बालगायत फलफूल दिदीबहिनीलाई दिन जाने गरिन्छ ।

“पहिले छिटनी, ढकिया, छिटवालगायतलाई सिकहर (विशेष प्रकारको डोरी)मा बाँधेर बहिङ्गा (काठको कलात्मक रुपमा बनाइएको झुण्डाउने लठ्ठी)मा झुण्डाएर पैदल हिँडेर लैजाने गरिन्थ्यो”, योगेश थारूले भने, “हाल यो चलन भने हराउँदै गएको छ, सवारीसाधनको प्रयोग हुन थालेपछि झोला, प्लास्टिकमा राखेर सवारीसाधन चढेर दिदीढबहिनीलाई अग्रासन दिने गरिन्छ ।” पछिल्लो समय अटवारी पर्वको मौलिकता खस्किदै गएको उनको बुझाइ छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here