हिज्बुल्लाहविरुद्धको आक्रमण नरोकिने इजरायली प्रधानमन्त्रीको भनाई



बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्ने काम जारी राख्ने बताएका छन् ।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो । लेबननको स्वास्थ्यमन्त्रालयले बिहीबार इजरायली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएका जनाएको छ ।


अवस्था चर्कन थालेपछि सोमबारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन् । बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ ।

सोमबारयता नाटकीय रूपमा लेबननमा इजरायली हमला चर्किएसँगै इजरायल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ । शत्रुता गहिरिँदै जाँदा अमेरिका, बेलायत र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले तीन साता लामो इजरायल–हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूतले यसअघि आफ्नो देश विभिन्न ‘विचारका लागि खुला’ रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो ।

तर बिहीबारसम्ममा त्यसलाई इजरायली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरायल लेबननमा ‘नरोकिने’ बताएका थिए ।

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरायल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरायलबाट ७० हजार मानिसहरू विस्थापित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here