भक्तपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगर अस्पताललाई ४५ लाख बराबरको विभिन्न प्राविधिक सामग्री एवं औषधि प्रदान गरेका छन्।
सूर्यविनायक नगरपालिकाले जगातीमा २५ रोपनी क्षेत्रफलमा सञ्चालन गरेको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू, एनआईसियू, प्रसूति सेवालगायतका विभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राविधिक सामग्री र औषधि प्रदान गरेका हुन्।
उनी मन्त्री भएलगत्तै अस्पतालले सेवा विस्तारका लागि माग गरेको सामग्री छिटो व्यवस्थापन गर्दै मन्त्रालयका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दका निर्देशक वसन्त अधिकारी, महाशाखा प्रमुख गेश्वर गेलालसहितको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा राकेशकुमार वर्मालाई मन्त्री थापाले सामग्री हस्तान्तरण गरेका हुन्।
सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने बताउदै मन्त्री थापाले भने, ‘म वडाध्यक्ष हुँदा कोरोना महामारी कालमा स्थापना गरेको सूर्यविनायक नगर अस्पताललाई भक्तपुरकै पहिलो ट्रमा सेन्टरका रुपमा स्तरोन्नति गर्नेछु, पूर्वबाट दैनिक हजारौँ सवारी साधन आउने जाने क्रममा हुने दुर्घटनामा परेको घाइतेको छिटो, सहज र सस्तोमा उपचार गर्ने लक्ष्यका साथ सरकारीस्तर मै प्रदेश सरकारबाट भक्तपुरमा पहिलो ट्रमा सेन्टरको रुपमा यस अस्पतालको विकास गर्नेछु।’
अरनिको राजमार्गदेखि विपि राजमार्गहुँदै सवारी साधन आवतजावत गर्ने मुख्य नाका भएकाले उपचारका लागि केन्द्रीय राजधानी आउने पूर्वी जिल्लाका बिरामीका लागि लक्षित गरी यस अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने उनले बताए।
मन्त्री थापाले जिल्ला अस्पताललाई नर्सिङ्ग कलेज सञ्चालनको बाटो खोलिदिने बताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा छुट्याएको रु चार अर्ब आठ करोडको बजेटलाई व्यवस्थितरुपमा आवश्यकताका आधारमा परिचालन गरिने बताए।
भक्तपुर अस्पताललाई सिटी स्क्यानका लागि आठ करोडको टेण्डरको प्रक्रिया अगाडि बढेको र सो अस्पतालसहित अन्य तीन अस्पतालमा मेमोग्राफी मेशिन सञ्चालनमा ल्याउन एक करोडको दरले बजेट व्यवस्थापन गरेको, ख्वप अस्पताललाई सिटी स्क्यान सञ्चालनमा ल्याउन पाँच करोडको बजेटको व्यवस्था गरेको भन्दै उनले वागमति प्रदेशका १३ वटा जिल्ला अस्पतालको गुणस्तरीय सेवासहित स्तरोन्नति गरिने बताए।
मन्त्री थापाले भने, ‘बागमती प्रदेशभित्रका धेरै ठाउँका जनता अहिले पनि स्वास्थ्यको सहज पहुँचबाट बाहिर हुनुहन्छ, मलाई थाहा छ अहिले पनि सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा छ, अब त्यस्तो अवस्थाको अन्त्य गर्नेछु, उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्नेछु।’
उनले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अवस्था बुझ्न जिल्ला अस्पतालको अनुगमन सुरु गरेको बताउँदै त्यहाँको स्वास्थ्य सेवाको गुणस्तरीयता, भौतिक संरचनाको अवस्था र सुधार गर्नु पर्ने विषयको जानकारी लिएर आवश्यक व्यवस्थापन गर्ने बताए। उनले प्रत्येक जिल्लामा एम्बुलेन्सको व्यवस्था गर्ने गरी तयारी गरेको बताए।
आफू मन्त्री भएकै दिन क्यान्सर पीडितलाई एक लाख सहयोग उपलब्ध गराउने निर्णय कार्यान्वयनमा आइसकेको बताए।