सामाजिक सङ्घसंस्थाका कामकारबाही पारदर्शी बनाउनुपर्छ : मन्त्री सुडी



पाटन (ललितपुर) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सङ्घसंस्थाका कामकारबाही प्रष्ट र पारदर्शी बनाउनुपर्छ भन्नेमा जोड दिएका छन् ।

‘सुशासन र समृद्ध नेपाल, राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास, सङ्घसंस्थाको रोजाइ’ भन्ने नाराका साथ समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित ४५औँ सामाजिक सेवा दिवस समारोहमा उनले सामाजिक सङ्घसंस्था समाजप्रति उत्तरदायी हुनेहुँदा प्रभावकारी र पारदर्शी हुनुपर्ने बताए ।


“समाजसेवीप्रति समाजको मर्यादा र प्रतिष्ठा विकसित हुन सकोस्, पछि परेका वर्गको हित, पछि परेको समुदायको कल्याणमा समाजसेवीको ध्यान जान सकोस्, तनमन लगाएर समाजमा पछाडि परेकाहरुको उत्थानमा सबै दत्तचित्त भएर सेवा गर्न सकौँ”, उनले भने ।

उनले समाजकल्याण परिषद्बाट हुने अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

“समाजकल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्नेछ”, उनले भने ।

परिषद् उपाध्यक्ष नन्दलाल माझीले गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकार मिलेर काम गर्नुपर्ने बताए । परिषद्का सदस्य सचिव मनोज भट्टले आर्थिक वर्ष २०८०/८१ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग ४४ वटा परियोजनासँग सम्झौता भई २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार छ सय ६३ को प्रगति हासिल भएको जानकारी गराए । उक्त आवमा १२ करोड ७१ लाख आम्दानी अपेक्षा गरिएकामा १७ करोड चार लाख आम्दानी भएको उनले जानकारी गराए ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घमा अध्यक्ष रमेश धमलाले समाजकल्याण परिषद् एउटा सानो कोठाभित्र मात्रै सीमित हुन नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here