सहकारी ठगी अभियोगमा जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता



भरतपुर । चितवनमा सहकारीका बचतकर्ताको रकम ठगी गरी फरार रहेका गीतेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । बुधबार राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।


राईसहित, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध मुद्दा दर्ता भएको हो ।

चार सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै उनलाई कारबाहीको सिफारिस गरेको थियो । राईलाई पक्राउ गर्न प्रहरीको इन्टरपोलमार्फत ’रेड नोटिस’समेत जारी भइसकेको छ । तर उनी पक्राउ पर्न सकेका छैनन् । उनी मेलेसियामा रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here