संविधानको रक्षा र कार्यान्वयनका लागि पक्षधर दलहरूबीच हातेमालो आवश्यक : अध्यक्ष नेपाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यमान संविधानको रक्षा र कार्यान्वयनका लागि राजनीतिक दलहरूबीचको एकता आवश्यक रहेको बताएका छन् । 

बिहीबार संविधान दिवसका सन्दर्भमा अध्यक्ष नेपालले संविधानका विरुद्ध अनेकौँ शक्तिहरू लागिपरेकाले लोकतान्त्रिक शक्तिबीच समन्वय र एकताको आवश्यकता रहेको बताए । 


मुलुकले ठूलो परिवर्तन र उपलब्धि हासिल गरेको भन्दै उनले भने, ‘नेपाली जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरणस्वरुप आज हामी दशौँ संविधान दिवस मनाइरहेका छौँ ।’ 

संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । 

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको उनको भनाइ छ । 

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको भन्दै अध्यक्ष नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाबाट जारी संविधान कार्यान्वयन तथा संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गरी समाजवाद स्थापना गर्न सकिने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here