लोकसंस्कृतिको अभिन्न अङ्ग इन्द्रजात्रा



-राममणि सिटौला

काठमाडौँ । संसारका मोहनजोदाडो, हरप्पा, सिन्धु, गङ्गा, रोम आदि सभ्यता नदीकै किनारामा विकास भएका छन् ।


हाम्रो देशमा पनि गण्डकी, कोसी, कर्णालीलगायत कैयौँ सभ्यता नदीका किनारमा भएका छन् । बागमती सभ्यता नदीका किनारमा विकास भएको हाम्रो प्रमुख सभ्यता हो । सभ्यता भनेको मानवको बाह्य प्रवृत्तिमूलक प्रेरणाले जे विकास भएको छ, त्यही हो । त्यसको अन्तर्मुखी प्रवृतिले जे विकास हुन्छ, त्यो संस्कृति हो ।

बागमती सभ्यताभित्र विकास भएको प्रमुख लोकसंस्कृतिमा इन्द्रजात्रा पनि पर्छ । संस्कृति ब्रह्म झैँ अवर्णनीय हुन्छ, व्यापक तत्त्वबोध गराउने खालको हुन्छ, जीवनको विविध प्रवृत्तिसँग सम्बन्धित हुन्छ । त्यसलाई लोकले अपनाएको हुन्छ ।

लोक भनेको ती सर्वसाधारण जन हुन् जसको व्यक्तिगत पहिचान नभएर सामूहिक हुन्छ । यी सबैको मिलिजुली संस्कृति नै लोकसंस्कृतिका रूपमा कहलिएको हुन्छ । बाहिरबाट झट्ट हेर्दा लोकमानसका अलग अलग रहनसहन, खानपान, वेशभूषा हुन्छ तर ती सबैलाई लोकसंस्कृतिरूपी एउटा धागाले मालाका रूपमा उनिरहेको हुन्छ । इन्द्रजात्रा यस्तै प्रकारको लोकसंस्कृतिको एक अङ्ग हो ।

‘इन्द्र’ शब्द लोकको जिब्रामा झुन्डिएको छ । ‘इन्द्र’ फूलहरूमा इन्द्रकमलका रूपमा चिनिन्छन् । यसबारेमा त लोकगीत नै छ, “इन्द्रकमल फूलको हजुर बोटै मरिगयो, चल्नै छाड्यो बासना”, “यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो, मगमग चल्यो बासना” आदि । तलाउमा मकवानपुर, मार्खुस्थित इन्द्रसरोवर चर्चित छ । वर्षात्मा इन्द्रधनुष र इन्द्रेणीका रूपमा उनकै नाम जोडिएर आउँछ ।

ऋग्वेदमा ‘इन्द्र’ लाई शक्तिशाली देवताका रूपमा बताइएको छ । उनले मानवताको विकास र कल्याणका निम्ति अनेकौँ कार्य गरेको उल्लेख छ । नदीलाई दिशा प्रदान गरेर, पर्वतबाट निस्किएका जलका धारालाई नियन्त्रण गर्दै नदी–समुद्रलाई व्यवस्थित गर्ने काम ‘इन्द्र’ ले नै गरेका थिए ।

ऋतुअनुसार बादल, बिजुली, वर्षात्, हुस्सु, कुहिरो आदिलाई व्यवस्थित तरिकाले मानव जातिमा सञ्चार गर्नमा पनि उनकै योगदान छ भनिन्छ । वैदिक युगमा ‘इन्द्र’ सर्वश्रेष्ठ देवता मानिन्थे । ‘इन्द्र’ को व्यक्तित्वलाई लिएर मानिसमा एउटा भ्रान्ति छ । इन्द्रको स्थिति सधैँ संदिग्ध छ ।

वैदिककालबाट आजसम्म आइपुग्दा ‘इन्द्र’ बारे धेरै कथा सामुन्ने आइपुगेका छन् जसले उनी कुनै व्यक्ति नभएर पदवी हो भन्ने प्रस्ट पार्छ । ‘पुराण’ कथाको चौधौँ मन्वन्तरमा यज्न, विपस्यति, शिवि, ऋतुधाम, देवास्पति, शुचि, पुरन्दर, अदभुुत शान्ति, वाली आदि चौध अलग अलग ‘इन्द्र’ का बारेमा वर्णन गरिएको पाइन्छ । ‘पद्म पुराण’ मा एक श्रापबाट मुक्त हुनका निम्ति हजारौँ वर्ष तपस्या गर्न जाँदा धर्तीका प्रतापी राजा नहुषलाई स्वर्गमा बोलाएर ‘इन्द्र’ को पदवी दिइएको उल्लेख छ ।

सबै ‘इन्द्र’ को छवि नकारात्मक मात्र छैन । जसले आफू जीवित छँदै अश्वमेध, राजसूय यज्ञ गर्न सक्छ, ऊ नै ‘इन्द्र’ पदको अधिकारी हुन्छ । सनातन धर्ममा अरू देवीदेवता झैँ इन्द्रको मूर्ति बनाएर पूजा गर्ने परम्परा नभए पनि देवराज ‘इन्द्र’ सनातन धर्मका अभिन्न अङ्ग हुन् । साङ्केतिक रूपमा भन्नुपर्दा जसले इन्द्रियलाई जित्न सक्यो, त्यसले ‘इन्द्र’ पद पायो, जसले इन्द्रियलाई वशमा राख्न सकेन, ‘इन्द्र’ पदबाट च्युत भयो ।


काठमाडौँ, भक्तपुर, ललितपुर आदि स्थानमा नेवार जातिमा प्रचलित इन्द्रजात्रा पनि उनै देवराज ‘इन्द्र’ मा समर्पित उत्सव, आराधना र जात्रा हो । इन्द्रजात्रामा नेवार जातिले सहकालका देवता इन्द्रको पूजाराधना गरेर मनाउने गरेको पाइन्छ । यो जात्राको उद्गमस्थल भनेको १२ आँैं शताब्दीमा बनेको अनेकौँ मठमन्दिरले सजिएको हनुमान ढोका क्षेत्र हो । जब यस क्षेत्रमा लिङ्गो ठडाएर इन्द्रध्वज स्थापना गरिन्छ, तब इन्द्रजात्रा प्रारम्भ भएको मानिन्छ ।


इन्द्रजात्राबारे लोककिंवदन्ती यस्तो छ ः जब ‘इन्द्र’ की आमा बसुन्धरालाई विशेष पूजाका निम्ति पारिजात फूलको आवश्यकता प¥यो, उनी स्वर्गलोकबाट ऐरावत हात्तीमा पृथ्वीलोकमा आए । उनी मानव रूप धारण गरेर यहाँको बगैँचाबाट पारिजातको फूल टिप्न थाले । फूल टिप्न लाग्दा उनलाई चोर भनेर समातियो र बाँधियो । त्यतिखेर ‘इन्द्र’ मानव रूपमा थिए, उनलाई ‘इन्द्र’ भनेर मानिसले चिनेका थिएनन् ।

‘इन्द्र’ बाँधिएको थाहा पाएपछि उनकी आमा बन्धनबाट मुक्त गर्न आइन् । उनले आफ्ना छोरा ‘इन्द्र’ भएको रहस्य खोलिन् । जब मानिसले ‘इन्द्र’ भन्ने थाहा पाए, तब पछुतामा डुबे । काठमाडौँमा शीत र कुहिरो लगाइदिने वाचा गर्दै ‘इन्द्र’ बन्धन मुक्त भएर स्वर्ग गए । कुहिरो र शीतले गर्दा आर्द्रता पाएर समयमा नै धानबाली पाक्न थाल्यो । त्यही दिनबाट इन्द्रजात्रा मनाउन थालियो ।

इन्द्रजात्रामा जुन इन्द्रध्वजोत्थान गरिन्छ यसबारेमा ‘महाभारत’, ‘हरिवंशपुराण’, ‘कालिका पुराण’, ‘देवी पुराण’ आदिमा उल्लेख छ । प्राचीनकालमा देवता र दैत्य ठुलो युद्धको तयारीमा लागे । त्रिदेव, सम्पूर्ण देवगण मिलेर ‘इन्द्र’ लाई विजयी गराउनलाई ध्वजा बनाएर त्यसको पूजा गर्दै इन्द्रलाई हस्तान्तरण गरे ।

इन्द्रले समातेकाले त्यसलाई इन्द्रध्वज भनियो । देवता र दानवका युद्धमा ‘इन्द्र’ ले विजय प्राप्त गरेपछि इन्द्रध्वज पूजाले निरन्तरता पायो । देवराज इन्द्रले उक्त ध्वजा पृथ्वीका राजा उपरिचर वसुलाई दिएपछि उनले सहजै विजय हासिल गरेको उल्लेख छ । यही खुशीयालीमा इन्द्रध्वज स्थापना गरेर यो पर्व मनाउन थालिएको हो भन्ने पनि लोकविश्वास छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि विधिवत् रूपमा यो जात्रा प्रारम्भ हुन्छ । जात्रा विभिन्न प्रकारको नाचगान, रथयात्रा, देवीदेवताको पूजा गरी लगातार आठ दिनसम्म मनाइन्छ । यस जात्रामा काटिने रुख भनेको काभ्रेपलान्चोकको उग्रचण्डी नालामा तान्त्रिक विधिद्वारा छाडिएको बोकाले छोएको रुख हो ।

हनुमान ढोकाको कालभैरवको मूर्ति अगाडि विधिवत् पूजाआजा गरेपछि जात्राको चहलपहल सुरु हुन्छ । लिङ्गामा नेपालभाषामा मङ्गलसूचकका विभिन्न चिह्नाङ्कित पताका झुन्ड्याइन्छ । लिङ्गाको फेदमा ऐरावत हात्तीमा चढेका सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ । यतिखेर नेपाली सेनाको ब्यान्ड, गुर्जुको पल्टन र पञ्चैबाजाद्वारा मङ्गलधुन बजाइन्छ ।

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित श्वेत भैरवको मन्दिर सर्वसाधारणका लागि दर्शन र पूजाका निम्ति खुला गरिन्छ । इन्द्रजात्रा सुरु भएपछि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने प्रचलन पनि छ । रथ तान्ने परम्परा काठमाडाँैका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको भन्ने इतिहासमा उल्लेख छ ।

आठ दिनसम्म चल्ने यस जात्रामा भक्कुनालचोकको सबभकुमा भक्तपुरको महाकाली नाच देखाइन्छ भने दशावतार तथा ‘इन्द्र’ को प्रतीकका रूपमा किलागलमा पुलुकिसी नाच देखाइन्छ । यतिखेर दहचोकको इन्द्रदहमा पनि दर्शनार्थीको घुइँचो लाग्छ ।

शदियौंँदेखि रातभर जाग्राम बसेर सोे दहमा स्नान गर्ने परम्परा छ । वास्तवमा इन्द्रजात्रा सनातन धर्मकै विभिन्न देवीदेवताको उत्सव, जात्रा हो । यतिखेर कुमारी घर अगाडि त्रिलोक नारायणको मन्दिरमा विष्णुले लिएको दश अवतारहरु देखाइन्छ ।

वर्षभरि दिवङ्गत भएका आत्माको सुखावती भुवनमा बास होस् भन्ने कामना गर्दै, दियो दान गर्दै, धरणी स्तोत्र पाठ गर्दै सहर परिक्रमा गरिन्छ । विक्रम संवत् ३८८मा राजा मानदेवले राजमाता राज्यवतीको पुण्य बढोस् भनेर निर्माण गरेको तिलगङ्गामा रहेको विष्णु विक्रान्तको मूर्तिमा पूजार्चना गरिन्छ, दियो दान गरिन्छ ।

इन्द्रजात्राको प्रमुख आकर्षण भनेको समयबजी हो । यतिखेर नेवार समुदायमा समयबजी खाने परम्परा छ । अन्तिम दिन नानिचायः भन्दै वसन्तपुरदेखि प्याफल, किलागल, नरदेवी, असन, इन्द्रचोक, वसन्तपुरमा ल्याएर बेलुकाको साइतमा लिङ्गो ढालेपछि विधिवत् रूपमा इन्द्रजात्रा समापन हुन्छ ।

वास्तवमा लोकमा चल्ने इन्द्रजात्रा झैँ उत्सव, जात्राहरू समाजको प्राचीन रूपलाई चियाउने आँखीझ्याल हो । यसले इतिहासलाई प्रतिविम्बका रूपमा प्रस्तुत गर्छ । यस्ता संस्कृतिमा सामान्य जनताको दृष्टिकोणलाई ध्यानमा राखेर ऐतिहासिक घटनाको वर्णन गरिएको हुन्छ ।

हाम्रो समाजको ढाँचा, प्रथा, परम्परा, रीतिरिवाजज आदि यस्ता जात्रामार्फत बुझ्न सकिन्छ । यस्ता संस्कृतिले एकताको भावनालाई मजबुत बनाउँछ, सामाजिक दूरीलाई निकट ल्याउने काम गर्छ । जब हामी यस्ता जात्रामा भाग लिन्छौँ, तब हामीभित्र भावनात्मक सन्तुष्टि र खुसीको सञ्चार हुन थाल्छ ।

इन्द्रजात्रा जस्ता संस्कृतिले सामाजिक एकताका लागि एउटा धागाको काम गर्दै आएको छ । यसले समाजको तानाबाना बुन्दै सांस्कृतिक विविधता, राष्ट्रिय एकताको भावनालाई पनि प्रश्रय दिएको छ । (लेखक लोकसंस्कृतिका जानकार हुन्)