बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता



काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा घिमिरेविद्धरु अवहेलना मुद्दा दर्ता भएको हो। शुक्रबार बारको विरोधका बाबजुद न्याय परिषदले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस गरेपछि अध्यक्ष घिमिरले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए।


न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्ति जनक भएको र त्यसमा परिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए।

उनले भनेका थिए, ‘अहिलेको बार गैरसंवैधानिक काममा कम्प्रमाइज गर्दैन। गैरन्यायिक काममा कम्प्रमाइज गर्दैन। आज मैले जति बोलेको छु नि प्रधानन्यायाधीशको खिलाफमा। सक्नुहुन्छ भने प्रधानन्यायाधीशज्यू, मलाई थुन्न मिल्छ तपाईंले थुन्नुस्। मलाई थुनेर तपाईंले गरेको गैरन्यायिक र गैरसंवैधानिक काम संवैधानिक हुन्छ भने थुन्नुस्। मेरो चुनौती हो। मैले त तपाईंलाई लेनदेनको आधारमा न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। मैले त तपाईंलाई यो आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो भनेर भनिसकेँ। सक्नुहुन्छ थुन्न भने थुन्नुस्।’

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको र जनआस्था गिराउने काम गरेको भन्दै अवहेलना मुद्दा दायर गरिएको सर्वोच्च प्रशासनले जानकारी दियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here