पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, दुईसय भन्दाबढीको मृत्यु



दक्षिणपूर्वी एसियाका लाखौं मानिसले चक्रवात यागीका कारण प्रभावित हुनुपरेको छ । चक्रवातपछि भएको व्यापक बर्षाले निम्त्याएको बाढीका कारण यस क्षेत्रका २०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । बाढीका कारण यस क्षेत्रका घरहरू डुवानमा परेका छन् भने बिजुली लगायतका पुर्वाधारसमेतमा क्षति पुगेको छ ।

सबैभन्दा बढी प्रभावित भियतनाममा यागीका कारण मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ भने उत्तरी थाइल्यान्डमा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।


यागीको साताव्यापी प्रहारले भारी वर्षा भएको र बर्षाका कारण आएको बाढीले उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारको भूभागलाई डुबाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (युनिसेफ) ले चक्रवातले भियतनाममा १४ लाख भन्दा बढी घरहरू क्षतिग्रस्त भएको जनाएको छ ।

युनिसेफले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा घर, स्वास्थ्य केन्द्र र विद्यालयहरूका लागि पानी उपलब्ध गराएको छ भने आगामी दिनमा भियतनामी सरकारलाई चिकित्सा र सरसफाइसम्बन्धी सामग्री पठाउने जनाएको छ ।

बाढीका कारण २५ लाख हेक्टरभन्दा बढीक्षेत्रमा लगाएको बालीमा क्षति भएको र ठूलो सङ्ख्यामा गाईवस्तुहरू मरेका भियतनामको कृषि मन्त्रालयले जनाएको छ ।

युनेस्कोको विश्व सम्पदा स्थल लुआङ प्रबाङमा मेकोङ बिहीबार बाढीको प्रभाव उच्च् स्तरमा पुग्ने अपेक्षा गरिएको आयोगले बुलेटिनमा जनाएको छ ।

यागीका कारण थाइल्यान्डमा मृतकको सङ्ख्या नौ पुगेको र चियाङ माई प्रान्तमा छ जनाको मृत्यु भएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

यसै गरी चियाङ राई विमानस्थल लागि सबै उडानहरू स्थगित गरिएको उड्डयन अधिकारीहरूले बताएका छन् ।

म्यान्माको सिमानामा रहेको माई साई जिल्लाले ८० वर्षयताकै सबैभन्दा खराब बाढीको सामना गरिरहेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारी सुट्टीपोङ जुल्जारेर्नले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले प्रभावित क्षेत्रमा सामान पठाउन आदेश दिएकी छन् भने राहत कार्यमा सहयोग गर्न डुङ्गा, हेलिकप्टरलगायतका यातायात पठाउन सेनालाई परिचालन गरेका छन् ।

म्यानमाको सरकारी समाचारपत्र ग्लोबल न्यू लाइटले याङ्गुन र माङ्डलेबीचको मुख्य लाइनमा केही भागमा बाढीका कारण रेल सेवा स्थगित गरिएको जनाएको छ ।

जुलाईमा प्रकाशित एक अध्ययनले जलवायु परिवर्तनले तटीय क्षेत्रमा आँधीको प्रभाव तीव्र बनाएको र लामो समयसम्म यसको प्रभाव देखिने गरेको उल्लेख गरेको छ ।