नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा



सिन्धुली ।  अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ ।सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।  

बाढी-पहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । ‘बिपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट–नेपालथोक, सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुलीमाडी खण्डमा सवारीसाधन चल्न थालेका छन् । नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्छ’, उनले भने ।


बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोशी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा तीन दिनदेखी सयौँ सवारीसाधन बाटैमा थन्किएका थिए । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीबासीको संयुक्त प्रयासमा अवरुद्ध भएका सडक मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरीक्षक काफ्लेले बताए । 

बिहीवारदेखि परेको वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढी पहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोलालगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयबासीको सहयोगमा नेपालथोक–खुर्कोट सडकखण्डकोे अवरोध हटाएर बीच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए । 

उनले भने, ‘हामी खुर्कोटदेखि नेपालथोकसम्मको सडक खुलाएर त्यहाँ अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई  सिन्धुलीमाडीतर्फ ल्याउँदैछौँ ।’ यसैबीच मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here