देशभर भारी वर्षा मापन, यी १६ स्थानमा चेतावनीको तह पार



काठमाडौं । पछिल्लो ३ घण्टामा कोशी प्रदेशको थोरै स्थानहरूमा धरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान महासाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मध्यम वर्षा मापन भएको छ।

हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको र आगामी २४ घण्टाका लागि देशभरनै मनसुन सक्रिय रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महासाखाले जनाएको छ ।


वर्षा मापन केन्द्रमध्ये धेरै जसो कोशी प्रदेशका रहेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको मापन भएको छ भने मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा मापन गरिएको छ ।

कोशी प्रदेशको मोरङको हरइचा, बाहुनी, विराटनगर विमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी विमानस्थल, सिस्ने अर्जुनधारा र बाहुनडाँगी, इलामको कन्काई मैनाचुली र उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको छ ।

यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमाझिया र रुपानी बजार र लुम्बिनी प्रदेशको पाल्पाको जाल्पा र अर्चालेमा चेतावनीको तह पार गरेको हो ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here