जुम्लामा विद्यालय भवन निर्माण



जुम्ला । जिल्लाको सिंजा क्षेत्रमा गुणस्तरीय शिक्षा विस्तार गर्ने उद्देश्यले दातृ निकायको सहयोगमा पाँचवटा सामुदायिक विद्यालयको भवन निर्माण गरिएको छ । दातृ निकायको तीन करोड ५० लाख ३८६ सहयोगमा पाँचवटा विद्यालय भवन निर्माण गरिएको हो ।

हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोगीवाडा र माथिकुडु गाउँको महादेव आधारभूत विद्यालयमा चारकोठे भवन, अपाङ्गमैत्री संरचना, पिउने पानी तथा हातधुने धारा निर्माण गरिएको दातृ निकाय पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिए ।


सिंजा गाउँपालिकाको श्री माध्यमिक विद्यालय जोडु, कनकासुन्दरी गाउँपालिकाको आधारभूत विद्यालय गोरुचौर र भैलापाटा आधारभूत विद्यालय लेखपुरमा चारकोठे विद्यालय भवन, अपाङ्गमैत्री संरचना निर्माण गरिएको उनले बताए ।

स्थानीय तहको समन्वयमा प्लान नेपाल र पेस नेपालको साझेदारीका आधारमा विद्यालय भवन, शौचालय, पिउने पानी र हातधुने धारा निर्माण गरिएको न्यौपानेको भनाइ छ । “निर्माण गरिएका संरचना भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गता र बालमैत्री छन्”, उनले भने ।

सबै भौतिक संरचना निर्माणपश्चात् कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीद्वारा उद्घाटन भई असोज पहिलो साता सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यकारी निर्देशक न्यौपानेले जानकारी दिए ।

प्लान नेपालका क्षेत्रीय निर्देशक मीना पराजुलीले आवश्यकतामा आधारित रहेर गुणस्तरीय शिक्षाका क्षेत्रमा विगत ४५ वर्षदेखि काम गर्दै आएको बताउँदै सोही अनुसार सिंजामा विद्यालय निर्माणमा सहयोग गरिएको उल्लेख गरे।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर विस्तार गर्दै स्थानीय तह, विभिन्न दातृ निकायको सहयोगमा सुविधासम्पन्न भवन निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here