जसलाई ‘लकडाउन’ले चित्रकार बनायो



लमजुङ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन् ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी चित्रकार सापकोटाले विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको बताइन। “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन्।


एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । ‘फुपूदिदीको घरमा फर्निचर उद्योग थियो । सुरुआती दिनमा त्यहाँ गएर रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ’, उनले भनिन।

फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्दछिन । यसबाट ध्यान विकेन्द्रित नहुने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

‘अहिले रङ्गमा हात बसिसकेको छ’, सापकोटाले भनिन, सुरुआती चरणपछि आफैँले रङ्ग, ब्रस र कागज किनेर ल्याई क्यानभासमा चित्र बनाउन थालेकी थिएँ ।’ एउटा चित्र बनाउन डेढदेखि दुई घण्टा लाग्ने उनले जानकारी दिइन् ।

चित्र बनाउँदै गर्दा भेटिनुभएकी सापकोटाले भने, ‘चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।’ उनले एउटा चित्र न्यूनतम सात हजारसम्म र अधिकता १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन् ।

कम्प्युटरमा काम गर्ने भएका पनि आवश्यक रङ्ग, ब्रस र कागज ‘अनलाइन’बाट मगाउने गरेको बताउँदै सापकोटाले चित्र बनाउने माग पनि अनलाइनबाट बढी आउने गरेको जानकारी दिइन । विदेशमा रहेका साथीभाइ र आफन्तले प्रोत्साहन तथा प्रचारप्रसार गरिदिनुभएको उनको भनाइ छ ।

विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई २० हजार र अष्ट्रेलियामा १२ हजारमा बिक्री हुने गरेको सापकोटाले बताइन् ।

पोखरामा फपूदिदीको घरमा बसेर पढ्दा आफूले सिकेको कलाकारितालाई उनले जतनका साथ निखार ल्याउँदै छिन । नेपालमा पनि अनलाइनबाट चित्र बनाउन माग आउने भन्दै अनलाइनबाटै बिक्री हुने गरेको उनको अनुभव छ ।

चित्र कस्तो, रङ्ग कुन मनपर्ने भन्ने कुरा मानिसको व्यक्तित्वमा भरपर्ने बताउँदै माग रङ्ग समायोजन गरेर चित्र बनाउने गरेको सापकोटाले उल्लेख गरिन।

‘माग (अर्ड) आएका चित्र सबै बनाउन समय पर्याप्त भएको छैन । आइटीको क्षेत्रमा काम गर्ने भएकाले व्यस्तता पनि निकै छ, फुर्सदमा रङ्गहरुसँग खेल्ने गरेकी छु’, उनले भनिन ।

चित्र बिक्री हुँदा र पुरस्कार पाउँदा अझ बढी गरुँ गरुँ लाग्ने सापकोटाले अनुभव सुनाइन् । गत वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएको जानकारी दिँदै उनले त्यसबाट प्राप्त हौसलाले ठूलो ऊर्जाको काम गरेको बताइन ।

घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ । आँट र मेहनत गर्ने हो भने जस्तोसुकै कठिन काम गर्न पनि सकिन्छ भन्ने एरिकाले त्यसका लागि तालिम वा प्रत्यक्ष कक्षा लिनु नपर्ने बताइन ।

‘पछिल्लो समय प्रविधिमा भएको विकासका कारण इन्टनेटको माध्यमबाट जस्तोसुकै काम गर्न र सिक्न सकिँदो रहेछ’, उनले भनिन, ‘परिवार र आफन्तको सहयोगले आत्मनिर्भर बनाउँदै लगेको छ ।’

अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here