जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नुस् : मन्त्री यादव



वीरगञ्ज। खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई संगठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

मन्त्री यादवले आज यहाँ जनता समाजवादी पार्टी (जसपा) जिल्ला समिति पर्साले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै विकासका मुद्दालाई प्रथामिकतामा राखेर अघि बढ्न पार्टीका कार्यकर्तालाई आह्वान गरे।


‘जनताका समस्या र विकास निर्माणका योजनालाई मुख्य प्रथामिकतामा राखेर अघि बढ्न सम्पूर्णलाई आग्रह गर्दछु’, उनले भने, ‘हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्न आवश्यक छ। त्यसैले जनताको समस्या पनि आफ्नै समस्या ठानेर समाधान गर्नेतर्फ अग्रसर हुन जरुरी भइसकेको छ।’

जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिवसमेत रहेको मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको सेवामा समर्पित रहन र संगठनलाई अझ मजबुत ढंगले एकताबद्ध गराउन निर्देशन दिए। ‘जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ। हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ। विकासका कार्यलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ’, उनले भने।