चर्चामा चलचित्र ‘ज्वाइँ साब’



काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो।


फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताए।

“पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उनले भने, “यो गीत आएपछि हाइप झन् बढेको छ। अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ।” उनले विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताए।

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ। चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताए। ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्मको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो।

यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गरेका छन्। बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहेका छन्। संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ। द्वन्द्व निर्देशन सञ्जय थापाको छ भने छायाङ्कन श्याम तामाङले गरेका छन्। चलचित्रको सम्पादन सन्देश शाहले गरेका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here