गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य : प्रधानसेनापति



काठमाडौँ । ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र कल्याणकारी कार्यलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत गरेका छन् ।

प्रधानसेनापतिमा नियुक्त भएपछि सकलदर्जालाई गरेको पहिलो सम्बोधनमा महारथी सिग्देलले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख कार्य भएको स्पष्ट पारे । भूकम्प र कोभिड–१९ महामारीलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको खोज, उद्धार, राहत र उपचारमा राष्ट्रिय एकताका साथ गरिएको कार्यले उत्प्रेरणा प्रदान गर्दै असल नतिजा प्राप्त गर्न सकिएको सेनाको ठम्याइ छ ।


‘गौरवका आयोजनामा ढिलासुस्ती र अनियमिता अस्वीकार्य’

वर्तमान सैनिक नेतृत्वलाई पूर्वाधार निर्माणका हिसाबले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग र प्रतिरक्षा विश्वविद्यालय निर्माणसम्बन्धी कार्यादेशमा अतिउत्तम अङ्क प्राप्त गर्नुपर्ने चुनौती छ । दुवै आयोजना महारथी सिग्देलकै कार्यकालभित्र पूरा गर्नुपर्ने कार्यदेशसमेत छ ।

सैनिक सङ्गठनभित्र कुनै पनि प्रकारका ढिलासुस्ती, अनभिज्ञता, अनियमिततालगायत क्रियाकलाप अस्वीकार्य हुने नेतृत्वबाट विचार सार्वजनिक भइसकेको छ । प्रधानसेनापति सिग्देलले भने –तहगत रूपमा तैनाथ कमाण्डरद्वारा आ–आफ्नो जिम्मेवारी क्षेत्रभित्र रहेका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग सैनिक मर्यादाभित्र रही समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइनेछ ।

संविधान, नेपाली सेनाको मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति, नेपाली सेना दीर्घकालीन सोचका आधारमा सङगठनको सुदृढीकरण गर्दै लैजाने वर्तमान सैनिक नेतृत्वको अठोट छ । देशको सुरक्षा, प्रतिरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा साझा बुझाइ र समान धारणा विकास गर्ने हेतुले प्रतिरक्षा विश्अघि बढाइएको हो । राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखी राष्ट्रको परराष्ट्र नीतिलाई टेवा पुर्याउन तथा सैनिक कूटनीतिलाई थप प्रभावकारी बनाउँदै लगिने उनले स्पष्ट पारे ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा, साङ्गठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवाविस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रबारे प्राथमिकता निर्धारण गर्न मार्गनिर्देशन जारी गरेका छन् ।

सेनाका प्रवक्ता गौरवकुमार केसी वर्तमान नेतृत्वले व्यावसायिक चरित्र, अनुशासन र ‘चेन अफ कमाण्ड’का आधारमा संस्थागत सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका छन् । सेनालाई आधुनिकीकरणतर्फ अघि बढाउन तालिम तथा बन्दोबस्तीका सामग्री चुस्त तुल्याउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यसम्पादनलाई उत्तिकै प्राथमिकता राख्ने राख्ने प्रधानसेनापतिको आदेश भएको बताए ।

देश र जनताका हितमा काम गर्ने चेत

नेपाली सेनाका पूर्वसहायक रथी धर्म बानियाँ राष्ट्रिय सुरक्षालाई सबल बनाउने भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय चुनौती विश्लेषण गर्दै नेपाल राष्ट्र र नेपाली जनताको कसरी हित गर्न सकिन्छ भन्ने विषयमा महारथी सिग्देलमा राम्रो ज्ञान रहेको बताए।

उनले भने –सैद्धान्तिक, व्यावहारिक, रणनीतिक कौशल र पेशागत सीपमा निपूर्ण महारथी सिग्देलले सेनालाई आधुनिकीकरण गर्दै लैजाने क्रममा आवश्यक उपकरणसहित हातहरितयार, सूचना सङ्कलन, तल्लो दर्जाका जनशक्तिलाई लक्षित गरी कल्याणकारी कार्य अघि बढाउन ध्यान पुर्याउनुहुने छ ।

नेतृत्वबाट कल्याणकारी कोषको दिगोपना र कोषबाट सञ्चालित कार्यहरूलाई कार्यदल गठन गरी प्राप्त राय सुझावका आधारमा थप प्रभावकारी बनाउँदै लगिने प्रतिबद्धता व्यक्त भइसकेको छ । हिताधिकारीलाई बहिरङ्ग उपचार सेवाको वार्षिक सीमा पुनरावलोकन गरिने र द्वन्द्वमा घाइते भएका सकलदर्जालाई सैनिक अस्पतालमा हुने उपचार रकमको सीमा हटाइने विषय पनि पहिलो सम्बोधनमै परेको छ ।

पूर्वसहायक रथी बानियाँ सरकारको अभिन्न अङ्ग हुनुका नाताले राष्ट्र विकासमा सेनाको भूमिकालाई थप विस्तार गर्न महारथीलाई सुझाव दिए । सैनिक–नागरिक सम्बन्ध र सैनिक कूटनीतिक सम्बन्ध विस्तारमा पनि ध्यान पुर्याउन उनले गरे। वर्तमान सैनिक नेतृत्वले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै अनुशासित र बफादार युवा जनशक्ति उत्पादनलाई टेवा पुर्याउने हेतुले राष्ट्रिय सेवा दलको क्षमतालाई अझ परिष्कृत गर्दै लगिने विश्वास दिलाएको छ । सैनिक–नागरिक सम्बन्धलाई थप घनिष्ट तुल्याउन शिक्षा, स्वास्थ्य, कला संस्कृति, परम्परा, पर्यावरण संरक्षण तथा राज्यका सम्पदाहरूको सुरक्षामा पनि सेना तल्लीन छ ।

महारथी सिग्देलले भने –समग्र संस्थाको हितमा काम गर्न, असल नियतले काम गर्ने मामिलामा नडराउन, व्यक्तिगत आकाङ्क्षा, कुण्ठा र सस्तो लोकप्रियताका लागि संस्थाको ‘तेजोबध’ नगर्न तथा मूलमन्त्रका रूपमा रहेको ‘सैनिक अनुशासन र मर्यादा’ कायममा उच्च ध्यान दिन आवश्यक छ ।

विश्वमा शान्ति सैनिकको धेरै सङ्ख्या खटाउने मुलुकको सूचीमा पछिल्लो वर्षदेखि नेपाल शीर्षस्थानमा रहँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हालसम्म विश्वका विभिन्न ४४ शान्ति मिसनमा एक लाख ५३ हजार एक सय आठ नेपाली सैनिकले योगदान पुर्याइसकेका छन् भने हाल छ सय ७९ महिलासहित पाँच हजार नौ सय १८ शान्ति सैनिक ११ मिसनमा परिचालित छन् ।

शान्ति स्थापना कार्यका लागि सेनाले तालिम तथा बन्दोबस्ती सामग्रीको व्यवस्थापनमा विशेष पहलको अठोट व्यक्त गरेको छ । ‘बङ्कर टु ब्यारेक’, लत्ताकपडा प्राप्ति एवं उत्पादनलगायत कार्यलाई व्यवस्थित गर्दै राष्ट्रिय खेलकुद विकासलाई पनि प्राथमिकता दिएर काम गर्ने सेनाले जनाएको छ ।

नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता विस्तार र तयारीपनको स्तर अभिवृद्धि गर्ने तथा राष्ट्रिय लक्ष्य हासिल गर्न सेना र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लगिने विषय पनि सम्बोधनमा समेटिएको छ ।

राष्ट्रियता, जनता र सङ्गठनको पक्ष

पूर्वउपरथी जगदीशचन्द्र पोख्रेलले महारथी सिग्देलबाट सकलदर्जालाई भएको सम्बोधन र आफूसँग नजिकको चिनाजानीका आधारमा राष्ट्रियता, जनता र सङ्गठनको हितमा उनको दह्रो अभिव्यक्ति आएको प्रतिक्रिया दिए ।

उनले भने –संस्थागत ‘इन्ट्रेस्ट’लाई कसरी कायम राख्ने भन्ने सन्दर्भमा विषयवस्तु प्रष्ट रूपमा आएको छ । प्रधानसेनापतिले सकलदर्जालाई आफ्नो कार्यकालमा अनुशासन, विधि र प्रणाली कसरी अघि बढ्छ भन्ने सुविचारित मार्गनिर्देश गर्नुभएको छ ।

राष्ट्रिय सुरक्षा अवधारणालाई केन्द्रमा राखेर भएको मन्तव्यबाट राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विश्वविद्यालय अलि खटेरै काम गर्ने विषय आएका उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको द्रुतमार्गको जिम्मेवारी समयमै पूरा गर्ने मामिलामा कुनै अलमल नहोस् भन्ने प्रधानसेनापतिबाट स्पष्ट सङ्केत भएको प्रतिक्रिया दिए ।

सेनालाई ठिक बाटोबाट अघि बढाउन आन्तरिक अनुशासन कायम गर्ने, नियमित तालिम र प्रशिक्षणका आधारमा जनशक्तिलाई चुस्त तथा दुरुस्त राख्ने, विश्वशान्ति कार्यलाई प्रभावकारी तुल्याउने विषय सङ्गठन सुदृढीकरणका हिसाबले निकै महत्त्वपूर्ण र सान्दर्भिक रहेको उनको भनाइ छ ।

नेपाली सेनाका पूर्वप्रवक्तासमेत रहेका पोख्रेलले भने – उहाँको नेतृत्वमा सङ्गठनलाई अघि बढ्दा उपलब्धि हासिल गर्ने सन्दर्भमा आशा गर्ने धेरै ठाउँ छ, उहाँको नेतृत्वमा राष्ट्र र सङ्गठन सुधारमा पक्कै पनि धेरै काम हुने विश्वास लिएको छु ।

यसका लागि सरकारले समयमै योजना छनोट, स्वीकृति, हस्तान्तरण, बजेट व्यवस्थापन, आवश्यक निर्देशन, समन्वय र सहयोगको प्रत्याभूतिसहितको प्रबन्ध मिलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here