गैरन्यायिकरुपमा गरिएको नियमावली संशोधन खारेज गर्न माग गर्दै बार एसोसिएसनद्वारा न्याय परिषदमा धर्ना



काठमाडौं । नेपाल बार एशोसिएशनले न्याय परिषदमा धर्ना दिएको छ । नियमावली संशोधनको माग गर्दै आइतबार नेपाल बारले रामशाहपथस्थित न्यायपरिषदमा धर्ना दिएको हो ।

उनीहरुले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्ने लगायतका माग राखेका छन् ।


न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै बारले धर्ना दिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरूलाई दुईवटा वर्गमा विभाजन गरेको बताए ।

उनले आफूहरूले पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि न्याय परिषद्ले नसुनेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । घिमिरेले गैरसंवैधानिक नियमावली खारेज नभएसम्म न्यायाधीश नियुक्ति गर्न नदिने जिकिर गरे ।