खुला मिनीम्याराथनमा इटहरीका धनु मानन्धर प्रथम



भैरहवा । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् ।

पाँच किलोमिटरको प्रतियोगितामा उनी १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम भएका हुन् । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।

यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ति गणका सरिताकुमारी बस्नेतले पाँच किलोमिटरको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उनले बताए ।

‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here