काबुलमा आत्मघाती हमला हुँदा ६ जनाको मृत्यु, १३ घाइते



अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी ६ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले शरीरमा विस्फोटक पदार्थ लगाएका एक व्यक्तिले विस्फोट गराएको जानकारी दिएका छन् ।


उनले भनेका छन्, “दुर्भाग्यवश, आक्रमणमा एक महिलासहित छ जना सर्वसाधारणको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।” आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

जादरानका अनुसार यो घटना दक्षिणी काबुल क्षेत्र काला–ए–बख्तियारमा भएको थियो र अनुसन्धान जारी छ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि विदेशी सेना र इस्लामिक विद्रोहीबीचको दुई दशक लामो युद्ध अन्त्य भएको र हिंसामा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट खोरासान (इस्लामिक स्टेटको क्षेत्रीय शाखा) अफगानिस्तानमा सक्रिय छ र यसले नियमित रूपमा नागरिक, विदेशी र तालिबान अधिकारीहरूलाई बन्दूक र बम आक्रमणको निशाना बनाउँदै आएको छ।