कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति, किसान चिन्तित



कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन् । 

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो । ‘वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ,’ उनले भनिन्, ‘धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।’


हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्याएपछि खानलाई समस्या हुने उनको गुनासो छ । उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन्। ‘आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ,’ लुहारले भनिन्, ‘अब के खाने ? के बेच्ने ?’

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ पनि गर्छिन् । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । 

‘हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो । न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै,’ उनले भनिन्, ‘किनेर खान पनि पैसा छैन ।’ बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ ।
 
अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ । 

स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन् । जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ । ‘डुबान, कटान र पटानले बाली क्षति पुगेको छ । यकिन विवरण प्राप्त भएको छैन,’ उनले भने, ‘निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here