ओलीलाई प्रचण्डको जवाफः अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’लाई ‘हिंसा’को रूपमा व्याख्या गर्नेहरुको भण्डाफोर गर्न निर्देशन दिएका हुन् ।


उनले ‘जनयुद्ध’लाई संविधानले ‘सशस्त्र संघर्ष’ भनेकाले त्यसविपरितका अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भन्ने अभिव्यक्तिको पनि जवाफ दिएका छन् ।

उनले भने, प्रधानमन्त्रीजीले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई प्रचण्डलाई राउण्ड किक हानेको भनेर पनि बोलेको सुनें । अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’

पार्टी पोलिटब्यूरो बैठक समापनका क्रममा बुधबार प्रधानमन्त्री ओलीले आफूले ‘एक राउण्ड किक’ दिँदा प्रचण्ड असन्तुलित भएर बोल्दै हिँडेको बताएका थिए ।

प्रचण्डले सहिदहरूलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रूपमै समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘सहिदहरूलाई सम्मान गर्ने सन्दर्भमा विभेदको स्थितिलाई नीतिगत रूपमै समाधान गर्न आवश्यक छ । आउने केन्द्रीय समितिको बैठकमा सहिदहरूलाई सम्मान गर्नेबारे एकरूपताका साथ सबै सहिदहरूलाई उचित सम्मान हुने नीति बनाउनेतर्फ पनि पहल गरिनेबारे जानकारी गराउन चाहन्छु ।’