एमबीबीएस प्रवेश परीक्षामा भएको त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन



काठमाडौँ । एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै त्यसलाई सच्याउन सरकारलाई निर्देशन दिएको हो ।


परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

समितिले यस सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।

बैठकमा शिक्षामन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटी गरेको भन्दै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी थिइन् ।