आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापानको आग्रह



टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।
इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।
“हामीले हाल लेबनानमा बसोबास गर्ने जापानी नागरिकको सुरक्षा अवस्था बुझिरहेका छौँ, साथै उनीहरूलाई नियमित व्यावसायिक उडानहरू सञ्चालनमा रहँदा देश छोड्न आग्रह गरिरहेका छौं“, मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले भने ।


यससँगै रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ ।

“टोकियो इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ”, जापानका विदेशमन्त्री योको कामिकावाले बुधबार भनेका थिए ।

“जापानले सबै पक्षहरूलाई थप तनावबाट बच्न अत्यधिक संयम अपनाउन“ दृढतापूर्वक आग्रह गर्दछ”, उनले भने ।
इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here