अब गंगालालमा राष्ट्रिय टिमका खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिममा रहेका खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको हो ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको उपस्थितीमा काठमाडौँ बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबीच खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षिय सम्झौता भएको हो ।

पेरिस पारालिम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क परीक्षणको सुरुवात गरिएको छ । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here