हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्ड



सिङ्गापुर । सिङ्गापुरले बुधबार लागुऔषध तस्करीमा दोषी ठहरिएका ५९ वर्षीया व्यक्तिलाई फाँसी दिएको अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार समूहले मृत्युदण्डको कुनै प्रमाणित अपराध निवारक प्रभाव नभएको बताउँदै यसलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।


सिङ्गापुरका अधिकारीहरूले भने मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै यसले एसियाको सबैभन्दा सुरक्षित देश बनाउन मद्दत गरेकोमा जोड दिएका छन् ।

“दण्डित ५९ वर्षीय सिङ्गापुरका बासिन्दालाई ७ अगस्ट सन् २०२४ मा मृत्युदण्डको दिइएको हो,” सेन्ट्रल नार्कोटिक्स ब्युरो (सिएनबी) ले एक विज्ञप्तिमा जनाएको छ ।

उक्त व्यक्तिलाई ३५.८५ ग्रामभन्दा कम हेरोइनको तस्करी गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।

सिङ्गापुरको लागुऔषध कानुनमा १५ ग्रामभन्दा बढी हेरोइन तस्करी गर्दा मृत्युदण्डको सजाय हुने प्रावधान रहेको छ । “उहाँलाई पूर्णरूपमा कानूनी उपचारको प्रक्रिया प्रदान गरिएको थियो र सम्पूर्ण प्रक्रियाभरी कानुनी सल्लाहकारद्वारा प्रतिनिधित्व गरिएको थियो,” सिएनबीले भन्यो ।

“उहाँले आफूलाई लागेको आरोप र सजायबिरूद्ध पुनरावेदन गर्नुभएको थियो तर पुनरावेदन अदालतले सन् २०२२ मे ११ मा उहाँको अपिल खारेज गरेको हो । राष्ट्रपतिसमक्ष गरिएको क्षमायाचनाको अनुरोध पनि अस्वीकार गरिएको थियो ।”

सिङ्गापुरमा एक हप्ताभन्दा कम समयमा मृत्युदण्ड दिइएको यो दोस्रो र यस वर्षको तेस्रो घटना हो ।

सिङ्गापुरका एक ४५ वर्षीय व्यक्तिलाई शुक्रबार ३६.९३ ग्राम हेरोइन तस्करी गरेको आरोपमा फाँसी दिइएको थियो ।

सिङ्गापुरमा गत फेब्रुअरीमा आफ्नो पूर्व मङ्गेतरको हत्या गरेको आरोपमा ३५ वर्षीय बङ्गलादेशी अहमद सलिमलाई फाँसीको सजाय दिइएको थियो ।

एएफपीको तथ्याङ्कअनुसार सिङ्गापुरले मार्च २०२२ मा मृत्युदण्डको सजाय पुनः कार्यान्वयन गरेदेखि मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १९ पुगेको छ । कोभिड–१९ महामारीको समयमा सिङ्गापुरले दुई वर्षका लागि मृत्युदण्डको सजाय स्थगित गरेको थियो ।