हाम्रो आकाश सुरक्षित छैनः सञ्चारमन्त्री गुरुङ



काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए । 


उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकाेप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

पटकपटक हवाई दुर्घटना हुनुले हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनको भनाइ छ । सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले बताए ।