सुरक्षा परिषद् सुधारका लागि राष्ट्रसङ्घका प्रमुखको आह्वान



न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी) मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताए ।

सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताएक हुन् ।


“विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र विश्वभर शान्ति र सुरक्षाको प्रश्नमा अफ्रिकाको दृष्टिकोणलाई कम महत्व दिइएको कुरा पनि अस्वीकार गर्न सक्दैनौँ”, गुटेरेसले भने ।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र बेलायत–प्रत्येकसँग मतदानमा भिटो गर्ने क्षमता छ । बाँकी १० अस्थायी सदस्यता क्षेत्रीय रूपमा वितरण गरिएका छन् । दशमध्ये तीन अफ्रिकी राज्यहरूका लागि, ल्याटिन अमेरिका र क्यारिबियनका लागि दुई, एसिया–प्यासिफिकका लागि दुई, पश्चिमी युरोप र अन्य राज्यहरूका लागि दुई र पूर्वी युरोपका लागि एक सदस्यता वितरण गरिएको छ ।

यूएनएससीले गत मे महिनामा अफ्रिकी राष्ट्रहरूले विश्वव्यापी सुरक्षा र विकाससँग सम्बन्धित मुद्दाहरूको सामना गर्न ठूलो भूमिका निर्वाह गर्ने जनाएको थियो ।

यसैबीच, संयुक्त राष्ट्र महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले बहसमा संयुक्त राष्ट्रले विश्वलाई जस्तो छ त्यस्तै प्रतिबिम्बित गर्नुपर्ने बताए । “सुरक्षा परिषद्मा अफ्रिकालाई कम प्रतिनिधित्व गरिएको छ भन्ने तथ्यले समानता र समावेशीकरणका दुवै सिद्धान्तको अपमान गर्दछ”, उनले भने ।

“यो राज्यहरूबीच सार्वभौम समानताको सिद्धान्तको विपरित छ र लगभग ८० वर्ष पहिलेको भन्दा तत्कालिन समाजलाई प्रतिबिम्बित गर्न यस संस्थालाई तत्काल सुधार गर्न आवश्यक छ”, फ्रान्सिसले बताए ।