सुदूरपश्चिममा उपनिर्वाचनको तयारी



सुदूरपश्चिम । देशभर रिक्त रहेका पालिका तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्षको आगामी मंसिरमा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले नगरपालिका र गाउँपालिका तहमा विभिन्न कारणले रिक्त रहेका पदमा आगामी मंसिरमा उपनिर्वाचन गराउने तयारी सुरु गरिए पनि निर्वाचनको मिति निश्चित गर्न बाँकी रहेको जानकारी दिए । 

यस्ता पदहरू रिक्त भएका कारण नागरिकलाई सेवा प्राप्तिमा असुविधा उत्पन्न भइरहेकाले उपनिर्वाचनमार्फत पदपूर्तिका लागि निर्वाचन आयोगले आन्तरिक तयारी गरेको जनाइएको छ ।


धनगढीमा बुधबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी भट्टले अनलाइन मतदाता नामावली संकलन तथा नाम दर्ता कार्य, मतदाताको ठाउँसारी, मतदाताको त्रुटि सच्च्याउने, मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाउने, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन कार्यक्रम र यस्ता गतिविधिमा सरोकारवालाको भूमिकालगायत विषयमा प्रस्तुति गरे । 

सुदूरपश्चिमको कैलाली जिल्लामा वर्ष ०८०/८१ मा एक हजार १२ नयाँ मतदाताको नामावलीमा नाम दर्ता भएको, १५७ को ठाउँसारी भएको, २४५ को त्रुटि सच्च्याइएको र मृत्यु भएका दुई हजार २४२ मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको जानकारी उनले जानकारी दिए । 

प्रतिनिधिसभाको पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा गएको वैशाखसम्ममा जम्मा पाँच लाख ३६ हजार ७७० मतदाता पुगेका छन् ।