‘सिधा कुरा’ विरुद्धको अदालतको अवहेलना मुद्दामा फैसला भदौ ६ गते



काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दामा आगामी भदौ ६ गते फैसला सुनाउने भएको छ । आज (बिहीबार) बृहतपूर्ण इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा फैसला सुनाउने मिति तोकिएको हो ।

उक्त मुद्दा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो ।


सो मुद्दाको बहसमा सहभागी कानुन ब्यवसायीलाई जनही ५ मिनेटको समय दिइएको थियो । इजलासले सो मुद्दाको सन्दर्भमा आगामी साउन ३२ गतेभित्र बहसनोट उपलब्ध गराउन पनि आदेश दिएको छ ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनले सिधा कुरा डटकम, त्यसका प्रकाशक र सम्पादकविरुद्ध अवहेलना मुद्दा चलाइएको थियो । ‘४ सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकको सामग्री ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलबाट वैशाख १४ मा प्रकाशन प्रसारण गरिएको थियो । उक्त अडियो प्रसारणपछि वैशाख १६ मा सर्वोच्च अदालत प्रशासनले उपरजिस्ट्रार घिमिरेमार्फत न्यायिक कार्यमा अवरोध पुग्ने गरी भ्रामक सामग्री प्रसारण भएको भन्दै अवहेलना मुद्दा दायर गरिएको थियो ।