सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै



दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । 

गत शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले अझै केही घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।