विद्युत प्राधिकरणको २२ अर्ब नतिर्दा पनि हुन्छ भन्ने प्रचण्ड नै हुन्, स्पष्टीकरण सोध्नुपर्छः गोकुल बास्कोटा



काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्युत प्राधिकरणको २२ अर्ब बक्यौता नतिर्दा पनि हुन्छ भनेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस विषयमा प्रचण्डलाई स्पष्टीकरण सोधिनुपर्ने बताएका हुन् । आफू प्रधानमन्त्री भएको बेला दुईवटा पत्र लेखेर प्राधिकरणको २२ अर्ब नतिरे पनि हुन्छ भनेका प्रचण्डले अहिले अरुमाथि हिजो छ्यापिरहेको टिप्पणी गरे ।


‘यो रोक्ने प्रचण्ड नै हो । यो नउठाउने प्रचण्ड नै हो, उहाँले लेखेको हो, जवाफ दिनुपर्छ, उहाँलाई हामी स्पष्टीकरण सोध्छौं । समितिले पनि त्यही सोध्न चाहेको हो । अरुमाथि हिलो छ्याप्नुहुन्न । आउनुपर्छ त्यो कुरा किन त्यो दुईटा पत्र लेखेको ? नतिर, नतिरे पनि हुन्छ भनेर ?’ उनले प्रश्न गरे ।

साथै, प्रचण्डले संसद्मा बोलेर दुनियाँ तताएको उनको टिप्पणी छ । प्रचण्डले सरकारलाई खबरदारी, चुनौति र धम्कीसमेत दिएको आरोप लगाए । प्रचण्डले संकट देखेको बेलामा महाविपत्ति सिर्जना गरेर चाहेको चिज पाउन सकिन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको उनको भनाइ छ ।

नेता बास्कोटाले सरकारमा रहँदा प्रचण्डले नै बढी माफियाको संरक्षण गरेको आरोप लगाए । ‘यो सरकार माफियाको संरक्षणमा बनेको सरकार हो भन्नुभयो । यसो हो भने एउटा कुरा गरौं न त, लेखा समितिको निश्कर्ष के हो भने २२ अर्ब रुपैयाँ महालेखको प्रतिवेदनले बेरुजु देखाएको छ । त्यो पैसा उठ्नुपर्छ । हामीले भनेको त्यही हो । त्यो पैसा लिने जिम्मेवारी लिएको मान्छेले पनि उठाएको देखिँदैन । माफियाहरुको संरक्षण गर्न खोजे भन्ने प्रतिपक्षी दलको नेताले पनि दुईवटा पत्र लेखेर उठाउन पर्दैन भन्नुभयो । हामीले सोध्नु्पर्यो माफियाहरुको संरक्षण कसको पालामा, किन रहेछ ? लेखा समितिले पुगेन भने संसदबाटै समिति गठन गरियोस्, किन २२ अर्ब उठेन ? कसका कारणले उठेन ? कसका कारणले पत्र लेखेर रोकियो ? त्यो चिज चाहियो । ७ वर्षदेखि एउटै मान्छेले नेतृत्व गरेको छ, अरु पनि हेर्नुछ,’– उनले भने ।