रेडपाण्डा संरक्षणका लागि ‘रेडपाण्डा म्याराथन’ आयोजना गरिने



ताप्लेजुङ । रेडपाण्डा संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङमा ‘रेडपाण्डा म्याराथन’ सञ्चालन गरिनेभएको छ । रेडपाण्डाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमाली संरक्षण मञ्चले आगामी असोज ५ गते रेडपाण्डा संरक्षणको सन्देशसहित म्याराथन गर्ने भएको हो ।

असोज ५ अर्थात् रेडपाण्डा दिवसको अवसरमा हुने म्याराथनमा रेडपाण्डा नेटवर्क साथै फुङलिङ नगरपालिकाको सहयोग सहयोग रहने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।


हरेक वर्षको सेप्टेम्बर २१ का दिन रेडपाण्डा संरक्षण दिवस मनाउने गरिएको छ । रेडपाण्डाको मुख्य बास स्थान मानिने पाथीभरा क्षेत्रमा नै म्याराथनको तयारी भएको छ ।

उक्त कार्यक्रमको पूर्वतयारी सुरु गरिएको संयोजक राईले बताउनुभयो । रेडपाण्डा संरक्षणका लागि म्याराथनका कार्यक्रम गर्न यो वर्ष रेडपाण्डा नेटवर्कले रु १० लाख सहयोग गर्नेछ भने फुङलिङ नगरपालिकाले रु पाँच लाख छुट्याएको छ । रेडपाण्डाको प्राकृतिक बासस्थानको संरक्षणको महत्त्वबारे स्थानीयलाई शिक्षित गर्ने अभियानकै रूपमा म्याराथनको आयोजना गर्ने तयारी भएको बताइएको छ ।