महोत्तरीमा पौराणिक झुलानोत्सव पर्व सुरु



जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्व गएरातिदेखि सुरु भएको छ । 

आउँदो पूर्णिमाको दिनसम्म मनाइने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठमटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा  बाजागाजाकासाथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिन्छ भन्ने अबेर रातिसम्म झुला झुलाइन्छ ।


महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा रहेको छ ।

झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताए ।

भगवान रामसीता साउनमा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाको अवसरमा मटिहानीमा मेलासमेत आयोजना गरिएको छ । मेला हेर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भीड लाग्ने गर्दछन् ।
    
सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता लक्ष्मीनारायणलगायत मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ । मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक सुरु हुन्छ ।

प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ ।झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरूले आफ्ना आराध्य खेलाई झुलाउने परम्परा रहेको छ ।वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । पन्ध्र दिनसम्म चल्ने यस झुलनोत्सवको अवसरमा मटिहानीको घरघरमा पाहुनासमेत आउने र झुला पर्व तथा मेलामा सहभागी हुने गर्दछन् ।

मटिहानीका झुला पर्वको आकर्षणका लागि यसपाली त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ ।