मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिए ।


‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला । यसैगरी त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमका बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला’, उनले भने, ‘असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के के गर्छौं ? गर्नसक्ने कार्यक्रम केके हुन् ? गर्न नसक्ने काम केके हुन् ? यस सन्दर्भमा अनिवार्य रूपमा गृहकार्य गर्दै अघि बढ्नू ।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण तथा नीतिगत सुधारका लागि चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउए ।

‘गर्नुपर्ने कामको प्राथमिकीकरण, नीतिको सूचीकरण, काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रूपमा कहाँ—कहाँ त्रुटि छ ? त्यसबारेमा संवेदशील भएर अघि बढ्नुपर्छ’, उनको भनाइ थियो ।