फुटबलः मछिन्द्र र पुलिसको खेल बराबरीमा सकियो



काठमाडौँ । राजधानीमा जारी ललित स्मृति एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै एक–एक अङ्क बाडेका छन् ।

खेलसँगै आठ खेलमा १५ अङ्क जोडेको मछिन्द्र चौथो स्थानमा छ । त्यस्तै समान आठ खेल खेलेको पुलिस २० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । आजको खेलमा मछिन्द्रका लागि पदम तामाङ, प्रशान्त मेन्याङ्बो र रोनिक रानामगरले गोल गरे भने पुलिसका लागि विक्रम गौतम, कप्तान सुवास बम र सुजलमान घलेले समान एक÷एक गोल गरे ।


खेलको ३०औँ मिनेटमा पदमको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । त्यसपछि खेलको ५४औँ मिनेटमा प्रशान्तले टोलीको अग्रता दोब्बर बनाए । पुलिसका खेलाडी विक्रमले खेलको ७५औँ मिनेटमा गोल गर्दा खेल २–१ को स्थितिमा रहेको थियो । त्यस्तै मछिन्द्रका रोनिकले खेलको ७७औँ मिनेटमा गोल गर्दै खेललाई ३–१ ले अगाडि बढाए ।

अनिश थिङले खेलको ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा सीमित बनेको थियो । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा पुलिसका सुवासले खेललाई ३–२ को स्थितिमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुजलमानले गोल गरेपछि खेल तीन÷तीन गोलको बराबरीमा सकियो ।