प्रहरी समायोजन प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक



जनकपुरधाम। गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशाेधन हुने गरि नयाँ कानुननै बनाउन लागिएको बताएका छन्।

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए।


प्रहरी सम्बन्धी संघीय ऐनमा संशाेधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दावी छ। वर्तमान सरकार डेलिभरी गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।

उनले राजनितिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ।