प्रधानमन्त्री ओलीलाई बंगलादेशमा अध्ययन गर्ने विद्यार्थीहरूको ध्यानाकर्षण



काठमाडौँ । बंगलादेशमा अध्ययनरत् नेपाली मेडिकल विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूहरूले भोगिरहेका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन्।

शुक्रबार नेपाली मेडिकल विद्यार्थी संघको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई विभिन्न ६ वटा बुँदामा सम्बोधनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।


प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा तत्कालै गर्नुपर्नेमा हाल बंगलादेशमा इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई बाँकी अवधि नेपालमै इन्टर्नसिप गर्ने प्रबन्ध मिलाइदिन अनुरोध गरिएको छ ।

यस्तै दीर्घकालीन रूपमा इन्टर्नसिप सम्बन्धी ऐन संशोधन गरी आवश्यकता र अवस्था हेरे बंगलादेश वा नेपाल विद्यार्थीको इच्छाअनुसार इन्टर्नसिप गर्ने व्यवस्था गरिदिन माग गरिएको छ। यो व्यवस्था भारतलगायतका अन्य छिमेकी देशमा पनि रहेको विद्यार्थीहरूले जनाएका छन् ।

यस्तै एमबिबिएसको अन्तिम परीक्षा उतिर्ण गरेपछि बंगलादेशका नीजि शिक्षण संस्थाले भर्नाहुँदा पाँचवर्षअघि नै अग्रिम रुपमा इन्टर्नसिप शुल्क लिनेगरेको उल्लेख गर्दै त्यही शुल्क पछि इन्टर्नसिप गर्दा मासिक तलबस्वरुप दिने गरेको जनाएका छन्। तर, बंगलादेशका सरकारी मेडिकल कलेजमा त्यो प्राबधान नरहेको विद्यार्थीहरूको गुनासो छ ।  

यस्तै अध्ययन गरिसकेपछि नेपालमै इन्टर्नसिप गर्ने मौका पाउँदा जनशक्ति पलायन रोकिने र नेपालका बिरामीले सेवा समेत पाउने विद्यार्थीहरूको तर्क छ ।

यस्तै बंगलादेशमा मापदण्डविपरीतका कलेजका कारण नेपाली विद्यार्थी ठगिने गरेको पनि विद्यार्थीहरूले प्रधानमन्त्री ओली समक्ष गुनासो राखेका छन्। यसका लागि नेपाल मेडिकल काउन्सिललगायत सरोकार राख्ने निकायले निश्चित मापदण्ड बनाएर मात्र भर्ना स्वीकृति दिने प्राबधान तय गर्न विद्यार्थीहरूको माग छ। यसैमा बंगलादेशमा रहेका कलेजहरूको नेपाल मेडिकल काउन्सिलले नियमित अनुगमन गर्नुपर्ने पनि विद्यार्थीहरूको माग छ ।

यस्तै बंगलादेशमा मेडिकल शिक्षाका नाममा विद्यार्थी र अभिभावक ठग्ने कन्सलटेन्सी र एजेन्टलाई कारबाही गर्न पनि विद्यार्थीहरूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

यस्तै नेपाल मेडिकल काउन्सिलले गरेको ६ महिना इन्टर्नसिप गरेपछि मात्रै लाइसेन्स परीक्षा दिन पाउने मापदण्ड हटाएर अन्तिम परीक्षा सकिएलगत्तै दिन पाउने प्रबन्धको पनि माग गरिएको छ ।

यस्तै लाइसेन्स परीक्षालाई न्यायिक र व्यवस्थित गर्न समेत विद्यार्थीको अर्को माग छ । यस्तै तीनदिनसम्म लिइने लाइसेन्स परीक्षा एकैदिनमा लिने प्रबन्धको पनि विद्यार्थीले माग गरेका छन्।

यस्तै वर्षेनी एकहजार पाँचसय देखि दुई हजार विद्यार्थी मेडिकल शिक्षा लिन विदेश पलायन भइरहेको अवस्थालाई हटाउन नेपाली कलेजमै कोटा बढाइदिन पनि विद्यार्थीहरूले माग गरेका छन् ।